रुपालाई पुरुषले छुने कुरा मन पर्दैन । जब बम्बईबाट आएको सूर्यमान (हर्कमानको छोरा) ले उनको हात छुन्छ, उनलाई ढुङ्गाले छोए जस्तै अनुभव हुन्छ । उत्सुकतामा उनले आफ्नो साथी निशासँग सोध्छिन्, “तिमीले छुँदा त त्यस्तो लाग्दैन, होइन ?“ रूपा आफ्नो शरीर र भावनालाई बुझ्ने प्रयासमा छिन् ।
यो नाटक १९९० को दशकमा बहुदलीय प्रजातन्त्रको आगमनपछि नेपालमा रहेको परिवेशमा आधारित छ, तर रूपाको अवस्था भने उस्तै छ । लैङ्गिक अध्ययन र यौन शिक्षा अझै पनि विद्यालयको पाठ्यक्रममा प्रभावकारी रूपमा समावेश गरिएको छैन । नेपाली समाज र परिवारमा यी विषयमा खुला रूपमा छलफल गर्न वा बालबालिका र किशोरहरूको जिज्ञासा सम्बोधन गर्न सहज वातावरण छैन ।
रुपा र उनका जस्ता धेरै व्यक्ति आफ्नो पहिचान, शरीर र भावनाहरूलाई बारम्बार प्रश्न गर्दै थाकेका छन्, तर जवाफ पाउन सकेका छैनन् ।
यो नाटक यौनिक अल्पसंख्यकहरूको भावनालाई झल्काउँछ। यसलाई प्रकाश शर्मा अधिकारीले लेखेका हुन् र सागर खातीले निर्देशन गरेका हुन् । नाटक “तिम्रो आँखामा खसेको साँझ“ कदम थिएटर र रोेट्र्याक्ट दमकको सहकार्यमा निर्माण गरिएको थियो ।